नगरपालिका हाकिमले जब मेयरलाई, तँ थारू, तँलाई सडकछाप बनाइदिन्छु भन्दै धम्की दिए

नारायण खड्का/सेतोपाटी साभार

बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्य मदिराले मातेर कार्यालयमा आई झगडा गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक पाँचौं तहका कर्मचारी नगेन्द्र भण्डारी मंगलबार मदिरा सेवन गरी कार्यालय आएको नगरका मेयर छविलाल थारूले बताए।

मदिरा सेवन गरे पनि गौतम र भण्डारीले कुनै बदमासी नगरेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत आचार्य भने मेयर थारू र उपमेयर रत्नकुमारी पाण्डेसँग झगडामा उत्रिएका थिए। आफूले सम्झाउँदै संयमित भएर बोल्न आग्रह गरे पनि आचार्यले झनै मनपरी बोल्दै टेबल ठोक्दै उदण्डता प्रदर्शन गरेको उपमेयर पाण्डेले बताइन्।

‘उहाँ मेरो कार्यकक्षमा प्रवेश गरेपछि अरू कसैलाई भित्र प्रवेश गर्न दिनुभएन। मैले सम्झाउँदा पनि मान्नुभएन,’ पाण्डेले भनिन्, ‘मेयर साहेबको कार्यकक्षमा जाऔं, उतै सल्लाह गरौंला भन्दा पनि उहाँले म जान्नँ, त्यसलाई यहीँ बोलाऊ भन्दै मनपरी गर्नुभएको थियो।’

मेयर थारूका अनुसार आचार्य मंगलबार कार्यालय समयमा आएका थिएनन्। उनले भान्सेमार्फत ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ की सुशिला पौडेल र पोषण शाखामा कार्यरत सुजना घिमिरेलाई अवकाश पत्र पठाएका थिए। सहायक लेखापाल सतेन्द्र जिसीलाई प्रदेशमा र अर्का चौथो तहका कर्मचारी लेखनाथ पौडेललाई संघमा काज फिर्ताको पत्र पठाएका थिए।

‘त्यो पत्र मैले चलानी हुन नदिएर रोकिदिएको थिएँ,’ मेयर थारूले भने, ‘मैले रोकिदिएको थाहा पाएपछि उहाँले मलाई फोन गरी मनपरी बोल्नुभएको थियो।’

आफूले आचार्यलाई फोनमै सम्झाउन खोजेको पनि उनले बताए। ‘सम्झाउन खोज्दा उहाँले मलाई फोनमै तँ थारू, तँलाई सडकछाप बनाइदिन्छु भन्दै धम्की दिनुभएको थियो,’ उनले भने।

त्यो फोन वार्ता भएको केही बेरमै, दिउँसो साढे २ बजेतिर प्रमुख प्रशासकीय अधिकृत आचार्य मातेर उपमेयर पाण्डेको कार्यकक्षमा पुगेका थिए। ‘कार्यालयमा सर्वसाधारण सेवाग्राही पनि धेरै आएका थिए,’ मेयर थारूले भने, ‘उहाँको कारण आज नगरकै बदनाम भयो। उहाँको उपद्रो सम्झिँदा मलाई अहिले पनि लाज लागिरहेको छ।’

समग्र कर्मचारी र नगरकै बदनाम हुने अवस्था देखेपछि आफूले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतलाई अवगत गराएको उनले बताए। यो घटनाबारे बुधबार कार्यपालिका बैठक बसेर निर्णय गर्ने पनि उनले बताए।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत आचार्यले फेसबुकमा लेखेको विषयबारे सोध्दा मेयर थारूले भने, ‘उहाँले मान्नुभएको थिएन, मैले नै कार्यपालिका बैठकबाट पारित गरेको पावर टिलर खरिद गर्ने कुरा इ-बिडिङ गर्न लगाएको थिएँ। अहिले त्यो ठेक्का परे पनि कसलाई परेको छ भन्ने पनि मलाई थाहा छैन। सम्झौता हुनै बाँकी छ। उहाँले ममाथि लगाउने खोजेको आरोप निराधार हो। आवेग र उत्तेजना मात्रै हो।’




6 thoughts on “नगरपालिका हाकिमले जब मेयरलाई, तँ थारू, तँलाई सडकछाप बनाइदिन्छु भन्दै धम्की दिए

  1. जातिय व पदिय घमण्ड टुर परत । असिन घटना के कानुनी उपचार करना जरूरी बा । नि त दोसर बभना आक फे तँ थारू कैक थारून के औकात देखाई खोजी । मेयरसाव go ahead..

  2. बारबर्दिया न.पा.का मेयर छबिलाल थारुलाई तँ थारु भनेर तुच्छ शब्द प्रयोग गरि हेप्ने सोही न.पा.का प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यलाई हदै सम्मको कडा कार्वाही गरियोस र यस घट्ना प्रति सम्बन्धित निकाय थारु आयोगको ध्यानाकर्षण गराउन चाहान्छु।

  3. यो त अति नै भयन र ? एउटा सिङ्गो नगरपालिकालाई नै बदनाम गर्ने काम भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *